कुलिङ अफ पिरियडः प्रधानमन्त्री ओलीमाथि छानविन गर्न दाहालको माग
- काठमाडौंसत्तारुढ दल कांग्रेस र एमालेबीच कुलिङ अफ पिरियडको विषयलाई लिएर मतभेद भइरेका बेला प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सो सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको दायरामा ल्याउनुपर्ने माग गर्नुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संघीय निजामती ऐनमा कुलिङ अफ पिरियडबारे भएको चलखेल पहिले नै प्रधानमन्त्रीकै मिलेमतोमा भएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो । उहाँले सो प्रकरणको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले संसदीय छानबिन समितिलाई पनि प्रधानमन्त्री ओलीलाई दायरामा पार्न माग गरिएको उल्लेख गर्नुभयो ।
यस्तै अध्यक्ष दाहालले नेपाली कांग्रेस र नेकपा एमालेमा वैचारिक र राजनीतिक ठूलो संकट देखिएको टिप्पणी गर्नुभयो । कांग्रेसमा विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरुले खेलेको भूमिका र गरेको योगदानमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको अभाव देखिएको उहाँको भनाइ थियो ।
अध्यक्ष दाहालले एमाले मदन भण्डारी र जनताको बहुदलीय जनवाद जबजको आधारमा टिकेको भए पनि पछिल्लो समय त्यसको प्रवर्तक र प्रस्तावक भन्ने विषयमै विवाद देखिएको जिकिर गर्नुभयो ।