नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा
- काठमाडौंनेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको छ ।
सो अवसरमा दुवै मुलुकका राष्ट्राध्यक्षले एक अर्कालाई बधाई एवम् शुभकामना आदान प्रदान गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले समकक्षी सी चिनफिङ, चीन सरकार र चिनियाँ जनतालाई बधाई तथा शुभकामना सन्देश दिँदै दुई देशबीचको आपसी मित्रतामा विश्वास, सार्वभौम समानता र शान्तिपूर्ण सहअस्तित्वलाई उजागर गरेको बताउनुभएको छ ।
उहाँले चीनसँग मिलेर शान्ति, प्रगति र समृद्धिको साझा दृष्टिकोण साकार पार्ने इच्छा व्यक्त गर्नुभएको छ । यस्तै, चीनका राष्ट्रपति सीले राष्ट्रपति पौडेल, नेपाल सरकार र नेपाली जनतालाई वर्षगाँठको अवसरमा बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ । उहाँले चीन र नेपालबीच लामो समयदेखि मित्रताको इतिहास रहेको स्मरण गर्दै फरक सामाजिक प्रणाली र आकार भएपनि समान व्यवहार तथा द्विपक्षीय सहयोग गरी मैत्रीपूर्ण सहअस्तित्वको उदाहरण पेश गरेको उल्लेख गर्नुभएको छ ।