मुख्य समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

- केएफएम डेस्ककाठमाडौं

आन्तरिक विवाद बढ्दै गएका बेला माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

 पार्टी केन्द्रीय कार्यालयमा वर्तमान राजनीतिक अवस्था, स्थगित मध्यपहाडी लोकमार्ग अभियान र आगामी केन्द्रीय कमिटी बैठकको एजेन्डा लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । आज केही घण्टा बसेको बैठक भोलिका लागि बोलाइएको छ ।

माओवादी केन्द्रभित्र सैद्धान्तिक र वैचारिक धारमा दुई पक्षबीच संर्घष हुने देखिएको छ । यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको विधि र पद्धतिभन्दा बाहिर गएर नेताहरुले धारणा राख्नु गलत भएको बताउनुभएको छ । 

स्थायी समिति बैठकको सुरुमा अध्यक्ष दाहालले उपमहासचिव जनार्दन शर्माको प्रश्नका सन्दर्भमा कम्युनिस्ट पार्टीमा संसदवादी दलको जस्तो सार्वजनिक रूपमा बोल्ने छुट नभएको बताउनुभएको हो । कम्युनिस्ट पार्टी बुर्जवा पार्टीजस्तो सार्वजनिक रूपमा बोल्न नपाइने भएकाले पार्टीमा जनवादी केन्द्रीयता लागू गरेर जानुपर्ने र शर्माले सार्वजनिक रुपमा बोलेका विषय ठिक नभएको अध्यक्ष दाहालको भनाइ रहेको एक स्थायी समिति सदस्यले बताए । त्यस्तै, अध्यक्ष दाहालले पार्टीभित्र जनवादी केन्द्रीयतालाई कडाइपूर्वक लागू गरी आन्तरिक पार्टी एकतामा जोड दिनुपर्ने बताउनुभयो ।