प्रतिनिधिसभाको बैठक बस्दै
- काठमाडौंप्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।
यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै, आज विभिन्न चार संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायत विषयमा’ समसामयिक छलफल गर्ने कार्यसूची छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।