पर्याप्त मल व्यवस्थापन गर्न नसकिएको सरकारको स्वीकारोक्ति
- काठमाडौंकिसानले समयमै मल नपाएको भन्दै आलोचना खेपीरहेको सरकारले मल व्यवस्थापन गर्न नसकिएको स्वीकार गरेको छ । मलमा अत्यधिक अनुदान रहनु लगायत कारणले उपलब्ध बजेट अनुसार बजारको माग सम्वोधन गर्ने गरी मल ल्याउन नसकिएको कृषि मन्त्रीको भनाइ छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कृषि मन्त्री रामनाथ अधिकारीले वार्षिक रुपमा झन्डै १३ लाख टनको माग हुने भएपनि आवश्यकता अनुसार मल ल्याउन नसकिएको बताउनुभयो ।
मलको आपूर्ति र वितरण व्यवस्था सहज बनाउन कानूनी र प्रक्रियागत सुधारको काम भइरहेको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । बारम्बार टेण्डर फेल भई मल समयमा नआउने अवस्थालाई कम गर्न सार्वजनिक खरिद नियमावलीमा शंसोधन गरिएको उहाँको भनाइ थियो ।
एक वर्षको अवधिमा मल आपूर्ति र वितरणमा उल्लेखनीय सुधार भएको सरकारको दावी छ । यो वर्ष ४ लाख ९१ हजार मेट्रिक टन मल आयात गरेको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।
यसअघि संसद बैठकमा बोल्दै विभिन्न दलका सांसदहरुले मल व्यवस्थापन र कालोबजारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराएका थिए । केहिदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मल व्यवस्थापनका लागि सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको थियो ।