मुख्य समाचार

शिक्षक महासंघको आन्दोलनको घोषणा

काठमाडौं

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेको छ । काठमाडौमा पत्रकार सम्मेलन गरेर महासंघले भदौ ९ गतेदेखि देशभर सडक आन्दोलन सुरु गर्ने बताएको हो । प्रस्तावित शिक्षा विधेयक शिक्षकविरोधी भएको आरोप लगाउँदै महासंघले विधेयक तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ । विधेयक संसदीय समितिबाट पारित भइसकेको छ । 

सो विधेयक प्रतिनिधिसभामा प्रतिवेदनसहित पेश गर्ने तयारी सरकारले गरेको छ । यसैबीच, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले शिक्षा विधेयकको विरोधमा देशभर विद्यालयका गाडी सडकमा उतारेका छन् । विधेयकमा समावेश प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै विरोधमा उनीहरुले विद्यालयका सवारी साधनलाई सडकमा तेस्र्याएका हुन् । काठमाडौँ उपत्यकाभित्र भने विद्यालयका सवारी साधनले चक्रपथ वरिपरि कालो ब्यानरसहित परिक्रमा गरेका थिए ।