मुख्य समाचार

ओलीको आरोपः “विद्या भण्डारीले असन्तुष्टहरुको जमात बोकेर कुद्नुभएको छ”

ललितपुर

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टहरुको जमात बोकेर पार्टीमा समस्या सृजना गर्न खोजेको आरोप एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लगाउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले दुई पटक राष्ट्रपति भएको व्यक्तिले एमालेमा फर्किएर समस्या सृजना गर्ने कल्पना नगरिएको बताउनुभयो । अध्यक्ष ओलीले पूर्व राष्ट्रपति भण्डारीले सम्पर्क कार्यालय स्थापना गरेको बिषयमा समेत असन्तुष्टी जनाउनुभएको छ । अर्को बर्ष मनाइने मदन भण्डारीको जन्म दिनका लागि अहिले देखिएर कार्यालय खोल्न आवश्यक नभएको ओलीको भनाइ थियो ।

अर्को प्रसंगमा ओलीले पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता एमालेले नखोसेको बताउनुभयो । राष्ट्रपति भएपछि पार्टी परित्याग गरेको र अहिले सदस्यता नवीकरणबारे पार्टीसँग छलफल पनि नगरेको अध्यक्ष ओलीको भनाइ थियो । पूर्व राष्ट्रपति भण्डारीले हिजो मात्र सम्पर्क कार्यालय स्थापना कार्यक्रममा बोल्दै एमालेले आफ्नो सदस्यता खोसेपनि आफू क्रियाशील रहने बताउनुभएको थियो ।