जिल्ला अदालतले नमानेपछि रास्वपा सभापति लामिछानेद्धारा उच्च अदालतमा निवेदन
- बुटवलसुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा निवेदन दिनुभएको छ । आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गर्नुभएको हो ।
लामिछानेको निवेदनमाथि सुनुवाईका लागि आगामी भदौ १३ गते पेसी तोकिएको उच्च अदालत बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिनुभयो । यसअघि, लामिछानेले थुनामुक्त हुन गरेको माग जिल्ला अदालत रूपन्देहीले अस्वीकार गरेको थियो । लामिछानेले बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि निवेदनसँगै दाखिला गर्नुभएको थियो ।
जिल्ला अदालतले भने उहाँको भागमा बिगो कायम हुने बारे यकीन नभएकाले रिहा गर्न नमिल्ने आदेश गरेको थियो । लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट अघिल्लो साता ललितपुरको नक्खू कारागारमा ल्याइएको छ ।