मुख्य समाचार

तिज पर्व आज महादेवको पूजाआराधना गरी मनाइँदै

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजाआराधना गरी मनाइँदै छ । 

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । 

यसैबीच, पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा दर्शनार्थ जाने भक्तजनका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसाद, दर्शनमार्गको व्यवस्थापन एवं सुधार, आकस्मिक स्वास्थ्यसेवा, उपासनासहितको व्यवस्थालगायत तयारी पूरा भएको पशुपतिनाथ क्षेत्र विकास कोषले जनाएको छ। पशुपति क्षेत्रको बाहिरी भागबाट मन्दिर जान चार वटा मार्गको व्यवस्था गरिएको छ । मूल मन्दिरभित्र भने आठ वटा लामको व्यवस्था गरिएको कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो । दर्शनार्थीले छिटो दर्शन गरी फर्कन सक्ने गरी मूल मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खोलिएको कोषले जनाएको छ ।