मुख्य समाचार

पार्टीप्रति जनताको विश्वास बढ्दै गएको माओवादी अध्यक्ष दाहालको दाबी

- केएफएम डेस्ककाठमाडौं

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीप्रति जनताको विश्वास बढ्दै गएको बताउनु भएको छ ।

कर्णाली प्रदेशको भर्चुअल बैठकलाई आज बिहान सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले पछिल्लो उपनिर्वाचन र कतिपय संघसंस्थाका निर्वाचनमा पार्टी निकट उम्मेद्वार विजयी भएको भन्दै पार्टी प्रतिको विश्वास बढेको दाबी गर्नु भएको हो ।

उहाले स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल पर्वतारोहण संघलगायत संस्थाको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरुको विजयलाई जनविश्वासको प्रतीकका रूपमा चित्रण गर्नु भएको हो । दाहालले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको भन्दै उहाले पार्टीमा गुटबन्दी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले स्थायी समितिको बैठकको संकल्प बमोजिम पार्टीभित्र द्वन्द्व सृजना हुन नदिने, गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्ने दाबी गर्नुभयो । त्यस्तै, अध्यक्ष दाहालले शिक्षा विधेयकलगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो ।