मुख्य समाचार

एमालेको विधान महाधिवेशनमा फरक मत लैजाने पदाधिकारी तहका नेताको तयारी

- केएफएम डेस्क

पूर्व राष्ट्रपति विद्या भण्डारीकोे पार्टी सदस्यता अस्वीकार गर्ने एमालेको निर्णय विरुद्ध केही नेताहरुले आगामी विधान महाधिवेशनमा फरक मतसहितको प्रस्ताव लैजाने भएका छन् । 

भण्डारीको पार्टी सदस्यता कायम नराख्ने निर्णयपछि असन्तुष्ट बनेका नेताहरुले विधान महाधिवेशनमा सो बिषयलाई प्रवेश गराउने तयारी गरेका हुन् । उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले केन्द्रिय कमिटीमा राखेको मत अन्तर पार्टी निर्देशनमा नसमेटिएको भन्दै उनीहरुले फरक मत विधान महाधिवेशनमा लैजाने भएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले आफ्नो विमत्तिलाई विधान महाधिवेशनमा लैजाने बताउनुभयो ।

भण्डारीको पक्षमा देखिएका उपाध्यक्ष पाण्डे र ज्ञवालीले फरक मत लैजाने तयारी गर्नुभएको हो । पूर्व राष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउन नदिने रणनीति बनाएको एमालेको आगामी विधान महाधिवेशनलाई महत्वका साथ हेरिएको छ । उपाध्यक्ष पाण्डेले पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताउँदै आफूहरुको विमत्तिलाई अघि बढाउने बताउनुभएको छ ।

एमालेको विधान महाधिवेशन आगामी शुक्रवारदेखि ललितपुरको गोदावरीमा शुरु हुँदैछ । उता, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पनि विधान संशोधन र राजनीतिक प्रतिवेदनको सन्दर्भमा फरक मत ल्याउने तयारी गरेको बुझिएको छ ।