मुख्य समाचार

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा जन्मिएका दुई हात्ती कतार पठाइने

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा जन्मिएका दुई हात्ती कतार पठाइने भएको छ । 

सात वर्षीया रुद्रकली र छ वर्षका खगेन्द्र प्रसादलाई आगामी कात्तिकभित्र कतारको राजधानी दोहास्थित चिडियाखानामा लैजाने तयारी गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता हरिभद्र आचार्यकाअनुसार कतारले दुई वर्षअघि कूटनीतिक च्यानलमार्फत हात्ती मागेको थियो । त्यहाँको वातावरण र बसाइको अवस्था अध्ययन गरी हात्ती पठाउने तयारी पूरा भएको उहाँले बताउनुभयो । 

हात्तीका साथ दुई जना माउते पनि कतार जाने छन् । कतारमा ती हात्तीलाई एसीयुक्त खोरमा राखी व्यवस्था मिलाइएको छ । हात्तीको घाँससमेत भारत र नेपालबाट पठाउने तयारी भएको विभागले जनाएको छ । 

हात्तीहरूलाई सौराहाबाट ट्रकमार्फत भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइनेछ र त्यहाँबाट कतार सरकारको चार्टर विमानमार्फत दोहा लैजाने तयारी छ । 

कतार र नेपाल दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन वन्यजन्तु उपहार दिन लागेको आर्चायले बताउनुभयो । हात्ती प्रजनन केन्द्रमा जन्मिएका हात्ती अन्य देशमा पठाउन लागिएको यो पहिलो पटक हो ।