एमाले विधान महाधिवेशन जारी, फरक मत राख्न दिइएन
काठमाडौं ।ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनमा विभिन्न प्रतिवेदनमाथि सामूहिक छलफल भइरहेको छ । छलफलका लागि विभिन्न १० वटा समूह बनाइएको एमालेले जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । निर्वाचन आयोग संयोजक डा. विजय सुब्बा, लेखा आयोग संयोजक डा. पुष्प कँडेल, अनुशासन आयोग संयोजक केशव वडाल र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले आ–आफ्ना प्रतिवेदन महाधिवेशनमा प्रस्तुत गर्नुभएको छ । विधान महाधिवेशन भोलि सक्ने तयारी एमालेले गरेको छ ।
यसैबीच, एमाले स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मतबारे धारणा राख्न रोक लगाइएको छ ।दोस्रो दिनको सत्रमा थापाले आफ्नो फरक मत राख्न खोजेपनि अध्यक्ष केपी शर्मा ओलीले रोक्नुभएको हो । धारणा राख्न नपाएपछि थापाले आफ्नो ३० पेजको फरक मत छापेर महाधिवेशन हलमा वितरण गर्नुभएको छ । फरक मतमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोकिएको विषय पनि उठाइएकाले थापालाई बोल्न नदिइएको एक नेताले बताए ।