मुख्य समाचार

काठमाडौं, सुनसरी, रुपन्देही र कास्कीका केही स्थानमा जारी

काठमाडौं

जेनजी पुस्ताको प्रदर्शन आक्रामक बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वरसहित विभिन्न क्षेत्रमा कर्फ्यू जारी गरेको छ । भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन–जी पुस्ताको प्रदर्शन तनावग्रस्त बनेको भन्दै प्रशासनले कर्फ्यू जारी गरेकोे हो । जिल्ला प्रशासन कार्यालयले आज राति १० बजेसम्म राजधानीका विभिन्न संवेदनशील क्षेत्रमा कफ्र्यु लगाइएको जनाएको छ । प्रशासनले पछिल्लो पटक राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा कर्फ्यू विस्तार गरेको छ । शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा कर्फ्यू थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो । त्यस्तै, जिल्ला प्रशासन कार्यालयले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा कर्फ्यू जारी गरेको छ ।

रुपन्देहीका बुटवल र भैरहवामा प्रदर्शन चर्किन थालेपछि जिल्ला प्रशासन कार्यालयले अपरान्ह ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बुटवल र भैरहवा क्षेत्रमा चार किल्ला तोकेर भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने गरी कफर्यू आदेश जारी गर्नुभएको हो । त्यस्तै, सुनसरीको इटहरीमा कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म इटहरीको मुख्य चौक आसपासका क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको हो । त्यस्तै, बर्दियामा समेत स्थानीय प्रशासनले साँझ ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासनद्धारा जारी विज्ञप्तीमा सदरमुकाम बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको हाम्रा सहकर्मीले जनाएका छन् । जेन–जीको प्रदर्शनका क्रममा झडप भएपछि स्थिति नियन्त्रणमा लिन कास्कीको पोखरामा पनि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।