मुख्य समाचार

युवा पुस्ताको प्रदर्शनः काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु

काठमाडौं

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध काठमाडौं लगायत विभिन्न जिल्लामा युवा समूहले गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको छ । हामीलाई प्राप्त जानकारी अनुसार काठमाडौं र इटहरीमा १९ जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् । संसद भवनको दक्षिणी गेटमा तोडफोड र आगजनी गरिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको हो । 

स्थिति तनावग्रस्त भएपछि स्थानीय प्रशासनले अपरान्ह साढे १२ बजे वानेश्वर क्षेत्रमा कफ्र्यु लगाएपनि युवाहरुले प्रदर्शन जारी राखेपछि अवस्था झनै विग्रिएको थियो । त्यसपछि प्रहरीले गोली चलाउँदा घाइते भएकाहरुको उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको हो । सरकारी निकायले मृत्यु हुनेको संख्याबारे औपचारिक रुपमा बताएका छैनन् । त्यस्तै, विभिन्न अस्पतालमा २ सयभन्दा बढीको उपचार भइरहेको छ । सिभिलमा १००, ट्रमामा ५०, एभरेस्टमा २०, केएमसीमा ३५, वीरमा ७ र पाटन अस्पतालमा ४ जनाको उपचार भइरहेको छ ।

 यसैबीच, इटहरीमा पनि प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका कार्यालय अगाडि दिउँसोदेखिको प्रदर्शन नियन्त्रणमा नआएपछि कफ्र्यु लगाइएपनि विरोध जारी रहेपछि प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो ।