मुख्य समाचार

अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा काम शुरु

- केएफएम डेस्ककाठमाडौं

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा नवनियुक्त तीन मन्त्रीले काम शुरु गरेका छन् । राष्ट्रपति भवनमा पद तथा गोपनियताको सपथ लिएपछि मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले पदवहाली गर्नुभएको हो । अर्थविद् खनाललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । कार्यभार सम्हालेपछि बोल्दै अर्थमन्त्री खनालले करदाताको पैसाको सही सदुपयोग गर्ने गरी काम गर्न कर्मचारीलाई आग्रह गर्नुभएको छ । गल्ती गर्ने छुट नभएको उहाँले बताउनुभयो ।

निर्वाचनका लागि आवश्यक रकमको व्यवस्था गर्न वैकल्पिक उपाय अपनाउनुपर्ने उहाँको भनाइ थियो । टुक्रे आयोजना र फजुल खर्चको सन्दर्भमा सुझाव दिन कार्यदल गठन गरिएको अर्थमन्त्री खनालले बताउनुभयो ।

लोडसेडिङ अन्त्यका लागि महत्वपूर्ण योगदान गरेपछि आम नागरिकमा लोकप्रिय भएका घिसिङले तत्कालका लागि तीन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । उज्यालो नेपाल अभियानको अगुवाइ गरेका घिसिङ उर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री बन्नुभएको हो । उर्जामन्त्रालयमा पदभार ग्रहण गरेपछि घिसिङले विद्युतको बक्यौता रकम उठाउने पहिलो निर्णय गर्नुभएको छ । विद्युत महसुस उठाउने बिषयका कारण आफूले विद्युत प्राधिकरण छाड्नुपरेको उल्लेख गर्नुभयो ।

उर्जामन्त्री घिसिङले मुलुकको बिषम परिस्थितिमा सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह समेत गर्नुभयो । आर्थिक संकटमा योगदान गर्नुपर्ने उहाँको भनाइ थियो ।