मुख्य समाचार

सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनीबारे अनुसन्धान हुन्छः गृहमन्त्री अर्याल

- केएफएम डेस्क काठमाडौं

कानून व्यवसायीको रुपमा चर्चा कमाउँदै आएका ओमप्रकाश अर्याललाई गृह र कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ । गृहमन्त्रालयमा पदभार ग्रहण गरेपछि मन्त्री अर्यालले सरकारी कार्यालयमा भएको क्षति मूल्यांकन गर्दै सेवा प्रवाहलाई अघि बढाउनुपर्ने बताउनुभयो । कार्यालयहरु सञ्चालन गर्नुपर्ने महत्वपूर्ण दायित्व भएको उहाँको भनाइ थियो ।

गृहमन्त्री अर्यालले सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीबारे अनुसन्धान हुने बताउनुभयो । आन्दोलनकारी समेत मागलाई सम्वोधन गर्ने गरी अनुसन्धान गरिने उहाँको भनाइ थियो ।

तीन जना मन्त्रीले सम्हालेका बाहेक अन्य मन्त्रालयको जिम्मेवारी भने तत्कालका लागि प्रधानमन्त्री कार्कीले सम्हाल्नुभएको छ । शीतल निवासको परिसरमा टेन्ट टाँगेर बनाइएको मञ्चमा नवनियुक्त मन्त्रीहरुको शपथ गरिएको थियो । आम नागरिकमा राम्रो छवि बनाएका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै सार्वजनिक रुपमा प्रशंसा भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले लोकप्रिय र स्वच्छ छविका व्यक्ति मन्त्री भएकोमा बधाई दिदै खुशीयाली साँटेका छन् ।