मुख्य समाचार

नेतृत्व हस्तान्तरणको विषयमा कांग्रेसभित्र असन्तुष्टी

- केएफएम डेस्ककाठमाडौं

पार्टीका पदाधिकारी तहका नेताले विशेष महाधिवेशन र नेतृत्व हस्तान्तरणको मुद्दा उठाएको विषयलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टी देखिएको छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतले बदलिँदो परिस्थितिमा विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेलगत्तै कतिपय नेताहरुले त्यसको प्रतिवाद गर्ने तयारी गरेका छन् । पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला र प्रवक्ता प्रकाशशरण महतले पार्टीको आन्तरिक विषयमा केन्द्रीत रहेर छलफल गर्नुभएको छ ।

महामन्त्री थापा र शर्माले विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि सभापति शेरवहादुर देउवा पक्ष नेताहरु एक ठाउँमा भेला भएका हुन् । यसैबीच, पार्टी नेतृत्व परिवर्तनबारे शुरु गरिएको बहसप्रति प्रवक्ता महतले आपत्ति जनाउनुभएको छ । प्रवक्ता महतले आज पत्रकार सम्मेलन गर्दै महामन्त्रीहरुले अघि सारेको प्रस्तावमा विमत्ति राख्नुभएको हो ।

पार्टी रुपान्तरणका लागि तत्काल महाधिवेशन गर्नुपर्ने लगायत माग महामन्त्री थापा र शर्माले राखेपछि कंग्रेसको आन्तरिक राजनीतिलाई तरंगित बनाएको छ । लोकतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको भन्दै प्रवक्ता महतले पार्टीमा संयमित भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

यसअघि कांग्रेस महामन्त्री थापाले अबका दिनमा पार्टी रूपान्तरण र पुनगर्ठनको कुनै विकल्प नभएको बताउनुभएको थियो ।