सार्वजनिक सवारी साधनमा आजदेखि देशभर रुट परमिट खुला
- काठमाडौंचाडपर्वलाई लक्षित गर्दै सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ ।
देशभरको यात्रुवाहक सार्वजनिक यातायातलाई दशैँको बेलामा सहज तरिकाले सञ्चालन गर्नका लागि आजदेखि रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् ।
यद्यपि, कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका विभिन्न प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ ।
रुट परमिट खुला आगामी असोज २२ गतेसम्म कायम रहने महासंघले जनाएको छ । यस्तै, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिनुपर्ने महासंघको भनाइ छ ।