मुख्य समाचार

आन्दोलनको सम्भावित अवस्थाबारे आँकलन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी : आयोग

काठमाडौं

राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलन पूर्व सम्भावित अवस्थाबारे आँकलन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी देखिएको बताएको छ । भदौ २३ गते पहिलो दिनको प्रदर्शनमा सुरक्षाकर्मीको गोलीबाट प्रदर्शनकारीको मृत्यु भएका कारण दोश्रो दिन व्यापक आगजनी र तोडफोड भएको पाइएको आयोगको भनाइ छ ।

 आयोगले विज्ञप्ति जारी गर्दै हिंसात्मक घटना हुनाका कारणहरुको पहिचान गरेर भविष्यमा सो प्रकारका घटना पुनः दोहोरिन नदिने वातावरण बनाउन सरकारलाई निर्देशन समेत दिएको छ । त्यस्तै, आयोगले शान्ति सुरक्षा र सुशासनका सवालमा गम्भीर बन्न आग्रह गरेको छ । 

आगलागीबाट महत्वपूर्ण सरकारी भवन, पार्टी कार्यालय, निजी घर, व्यवसायीक भवन, शैक्षिक संस्था, सञ्चारगृह र प्रहरी कार्यालयमा अत्याधिक क्षति पुगेको देखिएको आयोगको भनाई छ । त्यस्तै, आयोगले सुरक्षाकर्मीका भवन जलेर नष्ट भएको, प्रहरीका कतिपय भवन मर्मत निर्माण गर्न समुदायले सहयोग गरेका भएपनि सबै कर्याालयमा पुनर्निर्माण हुन नसक्दा सुरक्षालगायत प्रहरीबाट प्रदान गरिने सेवाप्रवाहमा बाधा भएको बताएको छ ।