मुख्य समाचार

बाढीका कारण झापामा २५ हजार विस्थापित

- केएफएम डेस्ककाठमाडौं

अविरल बर्षापछि मुलुकको पूर्वी क्षेत्रमा बढी क्षति भएको छ । झापामा बाढीले २५ हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अहिलेसम्म ५ हजार ४ सय ८१ घरधुरीका २५ हजार २ सय ३१ जना बाढीका कारण विस्थापित भएका हुन् । सबैभन्दा बढी झापा गाउँपालिकाका ५ हजार १ सय ८९ घरधुरीका करिब २४ हजार सर्वसाधारण विस्थापित भएका छन् । 

झापा गाउँपालिका १, २, ३, ६ र ७ का स्थानीयबासिन्दा बढी प्रभावित भएका हुन् । ती क्षेत्रमा माइखोलाको बाढी पसेको छ । प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको हाम्रा सहकर्मीले जनाएका छन् । शिवसताक्षी नगरपालिकाका ४७ घरधुरीका १ सय ८२, गौरीगन्ज गाउँपालिकाका ४१ घरधुरीका २ सय ४६ सदस्य विस्थापित भएका छन् । 

त्यस्तै गौरादहका ३१ घरधुरीका १ सय ४४ जना, भद्रपुरका २७ घरधुरीका ९० जना विस्थापित भएका छन् । विस्थापित मानिस आफन्तको घर, स्थानीय विद्यालय, सामुदायिक भवन र मन्दिर लगायत क्षेत्रमा अस्थायी शिविर बनाएर बसेका छन् । 

अर्जुनधारा, मेचीनगर र बुद्धशान्ति गाउँपालिकाका बस्तीमा पनि बाढीले ठूलो क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले पीडितलाई खाद्यान्न, पानी र औषधिको आपूर्ति गर्न स्थानीय तहसँग समन्वय गरिएको जनाएको छ ।