मुख्य समाचार

बाढीपहिरोबाट जनधनको क्षति भएकालाई राहत वितरण गर्ने सरकारको निर्णय

काठमाडौं

सरकारले विभिन्न स्थानमा बाढीपहिरोबाट जनधनको क्षति भएकालाई राहत वितरण गर्ने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औं बैठकले मृतक र बेपत्ताका परिवारलाई कानून बमोजिम तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले तीनै तहका सरकारहरुले प्रदान गर्ने राहतलाई समन्वय गरी दोहोरो नपर्ने गरी स्थानीय तहमार्फत प्रदान गर्ने निर्णय भएको जनाएको छ ।

 त्यस्तै, घाइतेको निशुल्क उपचार गर्ने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ । त्यस्तै, बैठकमा विपद्मा घरबास गुमाएका परिवारहरुका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहको समन्वयमा यथाशीघ्र लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने निर्णय भएको छ । त्यस्तै, लाभग्राही पहिचान भइ आए पश्चात अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय भएको छ । 

त्यस्तै, अवरुद्ध सडक सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,प्रदेश सरकार र स्थानीय तहलाई समेत मिलाउन निर्देशन समेत दिने निर्णय भएको छ । यस्तै, विपद् पश्चात फैलिन सक्ने महामारीजान्य रोग व्यवस्थापन गर्न खानेपानी मन्त्रालयलार्य स्वच्छ खानेपानी व्यवस्था र स्वास्थ्य मन्त्रालयलाई सम्भाव्य जोखिमयुक्त स्थानहरुमा जनचेतना लगायतका कार्यक्रम सञ्चालन गर्न भनिएको छ ।