मुख्य समाचार

लिची बगान घोटाला प्रकरणः पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

- केएफएम डेस्ककाठमाडौं

पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज एमाले नेता गुप्ता र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठसहित घरजग्गा व्यवसायी सुजन लामा, याम कुमारी गुरुङ, तुल्सीराम बुढा मगर विरुद्ध मुद्दा दायर गरिएको हो । 

उनीहरुविरुद्ध समेत ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । त्यस्तै, मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी विरुद्ध ५३ लाख र खम बहादुर पुन विरुद्ध २५ लाख विगो मागदाबी गरिएको छ । 

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सजाय हुने अख्तियारले जनाएको छ । कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको हो । 

घूस डिलको अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभएको थियो ।