वर्तमान राजनीतिक परिस्थितिमा संयमित हुन मानव अधिकार आयोगको आग्रह
- काठमाडौंराष्ट्रिय मानव अधिकार आयोगले हालको राजनीतिक परिस्थितिमा सबै पक्षलाई संयमित र मर्यादित रहन आग्रह गरेको छ ।
आयोगले आज एक विज्ञप्ती जारी गर्दै हिंसात्मक गतिविधि, घृणायुक्त अभिव्यक्ति र सामाजिक सद्भावमा खलल पुग्ने कार्य रोक्नुपर्नेमा बताएको छ । शान्ति, सुरक्षा र विधिको शासन कायम राख्न राज्यका निकाय र नागरिक दुवैको दायित्व रहेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
विकसित परिस्थितिमा विभिन्न समूह, राजनीतिक दल र व्यक्तिहरुबाट अभिव्यक्त विचार र त्यसबाट शान्ति सुरक्षामा पार्न सक्ने प्रभावलाई ख्याल गर्न आयोगले भनेको छ । साथै, जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनको घटनाको अनुसन्धानलाई तीव्रता दिनुका साथै तथ्य विवरण संकलन गर्ने कामलाई आयोगले निरन्तरता दिइरहेको जनाएको छ ।
आयोगले सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत वर्तमान संक्रमणकालीन अवस्थालाई निकास दिनु राज्यका सम्बन्धित निकायको दायित्व भएको उल्लेख छ ।