बाढी पहिरो प्रभावित इलाम संकटग्रस्त क्षेत्र घोषणा
-सरकारले गत साताको बाढी पहिरोबाट सबैभन्दा बढी प्रभावित इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
मन्त्रीपरिषद्को बैठकले तीन महिनाका लागि इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । बाढी पहिरोका कारण इलाममा ३८ जनाको मृत्यु हुनुका साथै सयौं घर र भौतिक संरचनामा क्षति पुगेको थियो । यसैबीच, सरकारले अघिल्लो सरकारको पालामा गठित भूमिसम्बन्धी आयोग खारेज गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिनुभयो ।
यसैबीच, सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा लगायत विषयमा गठित आयोगसहित तीन वटा प्रतिवेदन कार्यान्वयनका लागि सम्वन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
यसैबीच, सरकारले डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ ।