मन्त्रिपरिषद विस्तारको विषयमा जेन–जी प्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल
- काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा जेन–जीका प्रतिनिधिलाई सहभागी गराउने र फागुन २१ गते हुने निर्वाचनका विषयमा जेन–जीका प्रतिनिधिहरुसँग आज छलफल गर्नुभएको छ ।
राष्ट्रपति, प्रधानमन्त्री र जेन–जीका प्रतिनिधिबीच शीतल निवासमा त्रिपक्षीय वार्ता गर्ने भनिए पनि राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि प्रधानमन्त्री कार्कीले जेन–जी प्रतिनिधिहरुसँग छलफल गर्नुभएको हो ।
जेन–जीका प्रतिनिधिहरुले चुनावमा दलहरुलाई निषेध गरेर जान नहुने सुझाव दिएका छन् । त्यस्तै, उनीहरुले प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्मा चार जना जेन–जी प्रतिनिधिलाई सहभागी गराउन खोजेको विषयमा पनि चासो व्यक्त गरेका थिए ।
मन्त्रिपरिषदमा सहभागी गराइने नामका विषयलाई लिएर केही जेनजी प्रतिनिधिले असन्तुष्टि व्यक्त गरेको बताइन्छ । सो क्रममा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्मा जेन–जीकै प्रतिनिधिहरुलाई सहभागी गराउने जानकारी दिनुभएको जेन–जी अभियन्ता मिराज ढुङ्गानाले बताउनुभयो ।
त्यस्तै, केही जेन–जी प्रतिनिधिहरुले भने आफूहरुलाई वार्तामा सहभागी नगराएको भन्दै शीतल निवास बाहिर नाराबाजी गरेका थिए ।