मुख्य समाचार

राप्रपाभित्रको विवाद फेरि सतहमा

- केएफएम डेस्ककाठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाभित्रको विवाद फेरि सतहमा आएको छ । संस्थापन इतरको नेतृत्व गरिरहेका महामन्त्री धवल शमशेर राणा समूहले आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने गरि मिति तोक्न नेतृत्वलाई दबाब सिर्जना गर्ने तयारी गरेको हो । वर्तमान कार्यसमितको कार्यकाल आगामी मंसिरमा सकिदैछ । 

आफू निकटका नेताहरुको छुट्टै भेला बोलाएका महामन्त्री राणाले पार्टी केन्द्रीय समितिको बैठक आह्वानका लागि माग गर्ने, नियमित महाधिवेशनको मिति घोषणासँगै, संस्थापन पक्ष इतरका नेताहरूमाथि गरिएको कारबाही फिर्ता नगरे नेतृत्व विरुद्ध संघर्षका लागि तयार रहन निर्देशन दिएको बुझिएको छ । छलफलमा सहभागी एक नेताका अनुसार आगामी बुधबार बस्ने कार्यसम्पादनको बैठकमा इतर समूहका अन्य मागसँगै महाधिवेशनको मिती तोक्न नेतृत्वलाई दबाब दिने तयारी भएको छ ।

 विधान अनुसार एक वर्ष कार्यकाल थप्न सकिने भएकाले संस्थापन पक्षले महाधिवेशनमा चासो नदिएको राणा समूहको आरोप छ । अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशनको विषय पार्टी बैठकमा राख्नु पर्नेमा छुट्टै भेला राखेर केही नेता स्टन्टबाजीमा रमाएको बताउनुभयो । आगामी मंसिरमा नियमित महाधिवेशनका लागि तयारी भइरहेको भन्दै लिङदेनले कार्यकाल लम्ब्याउने पक्षमा आफू नरहेको दाबी गर्नुभयो ।