राष्ट्रिय सभा अध्यक्ष दाहाल र राष्ट्रपति पौडेलबीच भेट
काठमाडौंराष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग गर्नुभएको भेटमा अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १ सय ५१ औं महासभामा नेपालको संघीय संसदको तर्फबाट सहभागी हुने विषय र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा छलफल भएको हो ।
विश्वभरका १ सय ८१ देशका सांसदहरु सदस्य रहेको आइपीयूको महासभा स्वीट्जरल्यान्डको जेनेभामा अक्टुबर १९–२३ मा सम्पन्न हुँदैछ । सो महासभामा सहभागी हुन राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा एक प्रतिनिधि मण्डल जाँदैछ ।
आइपीयूको महासभामा नेपालको संघीय संसदको सहभागिता, राष्ट्रिय सभा निर्वाचन लगायत समसामयिक विषयमा राष्ट्रिय सभा अध्यक्षले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर छलफल गर्नुभएको थियो ।