ओलीले एमाले अध्यक्ष पद नछाड्ने
- काठमाडौंजेन जी आन्दोलनपछि उत्पन्न परिस्थिति देखाउँदै पार्टीका नेताहरुले नेतृत्व हस्तान्तरणका लागि गरेको आग्रह अस्वीकार गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले अध्यक्ष पद नछाड्ने बताउनुभएको छ ।
केन्द्रीय समिति बैठक समापनका क्रममा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएकाले तत्काल नछाड्ने बताउनुभएको हो ।
उहाँले अध्यक्षबाट राजिनामाको बिषयमा महाधिवेशनमा मात्र छलफल हुन सक्ने बताउनुभएको एक नेताले जानकारी दिए । अध्यक्षलाई पद छाड्न आग्रह गरे पार्टीभित्र तिक्तता उत्पन्न नगर्न ओलीले आग्रह समेत गर्नुभएको थियो । पदाधिकारी तहकै कतिपय नेताले नेतृत्व हस्तान्तरणका लागि सुझाव दिएपनि ओलीले अस्वीकार गर्नुभएको हो ।
अर्को प्रसंगमा उहाँले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यताको बिषयलाई बढी नउचाल्न समेत आग्रह गर्नुभयो । केन्द्रिय कमिटी बैठकमा केन्द्रिय सदस्यहरुले भण्डारीलाई पार्टीमा फर्किन दिनुपर्ने सुझाव राखेकोमा ओलीले आपत्ति जनाउनुभएको हो । एमालेको केन्द्रिय कमिटीको औपचारिक निर्णय सार्वजनिक हुन बाँकी छ । यसैबीच, एमाले सचिव योगेश भट्टराईले लिखित प्रस्ताव राख्दै अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणका लागि सुझाव दिनुभएको छ । भट्टराईले ओलीलाई पार्टीको अभिभावक बन्न आग्रह समेत गर्नुभएको छ ।