विपिन जोशीको शव नेपाल ल्याइयो
-प्यालेस्टाइनी विद्रोही हमासले बन्धक बनाएका बेला मारिएका नेपाली युवा विपिन जोशीको शव नेपाल ल्याइएको छ । विपिनकोे मृत्यु भएको पुष्टि भएपछि इजरायलमा पोस्टमार्टम गरेपश्चात् आज उनको शव स्वदेश ल्याइएको हो । प्रधानमन्त्री सुशीला कार्की र सरकार मन्त्रीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विपिनप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । प्रधानमन्त्री कार्कीले विपिन जिवितै फर्किने अपेक्षा गरिएपनि त्यसो नहुनु दुर्भाग्य भएको उल्लेख गर्नुभयो ।
विपिनप्रति श्रद्धाञ्जली व्यक्त गर्ने क्रममा प्रधानमन्त्री कार्की भावुक हुनुभएको थियो । विपिनको निधनले एक होनहार नेपाली युवा गुमाउनुपरेको उहाँको भनाइ थियो ।
७ अक्टोबर २०२३ मा हमासका लडाकूले विपिनलाई गाजापट्टीसँग सिमा जोडिएको इजरायलको दक्षिणी क्षेत्र अलुमिम किवुजबाट बन्धक बनाएर लगेका थिए । इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा अमेरिकाले प्रस्ताव गरेको शान्ति योजनाको पहिलो चरण अनुसार बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएपछि हमासले गत सोमबार विपिनको शव हस्तान्तरण गरेको थियो ।