मुख्य समाचार

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन अनुसार अघि बढ्ने शक्षामन्त्रीको प्रतिवद्धता

- केएफएम डेस्क

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने बताउनुभएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले खोजबिन समितिले औँल्याएका केही विषय कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने समेत जानकारी दिनुभयो । त्रिविको जग्गा खोजबिन सम्बन्धी समितिको प्रतिवेदन अपूरो रहेको भन्दै मन्त्री पुनले अझै गहन छानबिन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री पुनले सुदूरपश्चिम विश्वविद्यालयको समेत जग्गा हड्पेको भन्ने उजुरी मन्त्रालयमा प्राप्त भएकाले त्यसमा पनि छानबिन समिति गठन गरिने जानकारी दिनुभयो । त्यस्तै, मन्त्री पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने विद्यमान व्यवस्था अन्त्य गर्नुपर्ने उल्लेख गर्नुभयो ।

विश्वविद्यालयलाई सुधार गर्न राजनीतिक हस्तक्षेप हटाउन प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउनुपर्ने बताउँदै उहाँले विद्यालयका शिक्षकको तलब–भत्ता नपाएको विषयमा छानबिन गर्न, प्रधानाध्यापक छान्ने प्रक्रिया सुधार गर्न र पाठ्यक्रम परिमार्जनको कार्य अगाडि बढाइएको समेत जानकारी दिनुभयो ।