प्रधानमन्त्री कार्कीले आज मुख्य राजनीतिक दलसँग छलफल गर्दै
काठमाडौंनिर्वाचनको वातावरण बनाउन भन्दै प्रधानमन्त्री सुशीला कार्कीले आज मुख्य राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । छलफलका लागि दलका प्रतिनिधीलाई दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटार बोलाइएको छ । दलहरुले सरकारले चुनावका लागि संवाद नगरेको भन्दै असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री कार्कीले औपचारिक छलफलको सुरुवात गर्न लाग्नु भएको हो । दलका नेताहरुले समेत प्रधानमन्त्रीको अग्रसरतालाई स्वागत गरेका छन् । चुनावमा नजाने बताइरहेको नेकपा एमाले पनि आजको बैठकमा सहभागी हुने भएको छ ।
संसद् पुनस्र्थापनाको पक्षमा देखिएको एमालेले छलफलबाट पछि नहट्ने भन्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सरकारले बोलाएको बैठकमा सहभागि हुने बताउनु भयो । एमालेका तर्फबाट महासचिव शंकर पोखरेल छलफलमा सहभागि हुने पार्टी स्रोतले जनाएको छ । नेपाली कांग्रेसले त्यसलाई सरकारको कदमलाई स्वागत गर्दै महामन्त्री गगन थापासहित छलफलमा जाने बताएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न हरेक दलबाट दुई दुई जना प्रतिनिधिलाई बोलाइएको छ । यसकालागि प्रधानमन्त्रीले दलहरुलाई पत्र पठाउनु भएको थियो । प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा (उपेन्द्र यादव) र जनमत पार्टीलाई संवादका लागि बोलाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले निर्धारित मितिमै निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्ने बताउँदै आएको छ ।