केन्द्रिय समिति बैठकले महाधिवेशनको निर्णय गर्छः कार्यवाहक सभापति खड्का
- काठमाडौंनेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णवहादुर खड्काले पार्टीको जारी केन्द्रिय कार्यसमिति बैठकले नियमित महाधिवेशनबारे निर्णय गर्ने बताउनुभएको छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले दवाव बढाइरहेका बेला कार्यवाहक सभापति खड्काले यसै साता बस्न लागेको बैठकले नियमित महाधिवेशनबारे निर्णय गर्ने बताउनुभएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्नु भएको हो ।
गत असोज २८ गते शुरु भएको कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक कात्तिक १ गतेसम्म बसेर १२ दिनका लागि स्थगित गरिएको थियो । कांग्रेसले बैठक आगामी विहिवारबाट शुरु गर्दैछ । महाधिवेशनको बिषयलाई पार्टीभित्र असन्तुष्टी बढिरहँदा कार्यवाहक सभापति खड्काले विगतका कमीकमजोरीबाट पाठ सिकेर अघि बढ्ने बताउनुभयो ।
संस्थापन इतर पक्षका नेताहरुले मंसिरमा विशेष महाधिवेशनको माग गरेपछि कांग्रेसका नेताहरु विभाजित भएका छन् । कतिपय नेताले नियमित महाधिवेशन तत्काल नभए पार्टी विभाजन हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । तर महामन्त्री विश्वप्रकाश शर्माले भने पार्टीमा विग्रह नहुने बताउनुभएको छ ।
संस्थापन इतर पक्षका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट बचाउन नियमित महाधिवेशनको तालिका ल्याउनुपर्ने धारणा राख्दै आउनुभएको छ ।