बिपी राजमार्गमा रातको समयमा सवारी आवागमन निषेध
- काठमाडौंनिरन्तरको वर्षाका कारण बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै स्थानीय प्रशासनले वीपी राजमार्गमा भोलि विहानसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
राजमार्गको काभ्रे भञ्ज्याङदेखि भकुन्डेबसी हुँदै सिन्धुली सडक खण्डमा आज अपरान्ह ५ बजेदेखि भोलि विहान ६ बजेसम्म सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधन मात्र चलाउन पाइनेछ । बाढी पहिरोबाट हुन सक्ने जोखिम कम गर्न सवारीसाधन आवागमनमा निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो । रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य स्थानमा समेत प्रहरीले कुनै पनि बेला सवारीसाधन रोक्न सक्ने काभ्रे प्रशासनले जनाएको छ ।
यसैबीच, सिन्धुली प्रशासनले वीपी राजमार्ग अन्तर्गत खुर्कोट बजारबाट काठमाडौं आउने सडक खण्डमा सवारी साधन चलाउन भोलि विहान ५ बजेसम्म रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बर्षा भएका बेलामा विपी राजमार्ग र मध्यपहाडी राजमार्गमा दिउँसोको समयमा समेत सवारी साधन नचलाउन आग्रह गरेको छ ।