मुख्य समाचार

कांग्रेसमा संस्थापन र इतर पक्षद्वारा फरक मितिमा महाधिवेशन गर्ने प्रस्ताव

काठमाडौं

महाधिवेशन आयोजनाको बिषयले आन्तरिक विवादमा फसेको नेपाली कांग्रेसमा संस्थापन र इतर पक्षले फरक मितिमा नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् । दुई दिनको स्थगनपछि बसेको केन्द्रिय कार्यसमितिको बैठकमा आज महामन्त्री गगन थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सार्नुभएको छ ।

 त्यस्तै, संस्थापन पक्षका सहमहामन्त्री महेन्द्र यादवले आगामी वैशाख अन्तिम साता १५ औं महाधिवेशन आयोजना गर्नुपर्ने प्रस्तावसहित कार्ययोजना पेश गर्नुभएको छ । फागुन २१ गतेका लागि निर्धारित निर्वाचन अघि महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको संस्थापन इतरलाई काउन्टर दिन संस्थापन पक्षको तर्फबाट समेत महाधिवेशनका लागि छुट्टै मिति प्रस्ताव गरिएको हो । 

महामन्त्री थापाले मंसिर १० गतेसम्म क्रियाशील सदस्यता टुंग्याउने, २४ गतेसम्म अन्तिम सूची प्रकाशित गर्ने र २७ गते वडा तहको अधिवेशन गर्न प्रस्ताव अघि सार्नुभएको छ । थापाको प्रस्तावमा पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्न सकिने उल्लेख छ । उहाँले महाधिवेशनपछि प्रदेश र जिल्लाका अधिवेशन गर्न सकिने बताउनुभएको छ । संस्थापन पक्षका सहमहामन्त्री यादवले भने चैत ३० गतेभित्र सबै जिल्ला अधिवेशन सिध्याउने गरी कार्यतालिका प्रस्ताव गर्नुभएको बताइएको छ । 

कांग्रेस नेताहरुका अनुसार दुवै प्रस्तावमाथि छलफल गरेर केन्द्रिय कार्यसमितिले महाधिवेशनको विवाद मिलाइने भएको छ । केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समितिमा आएका सबै प्रस्तावमाथि मिहिन ढंगले छलफल गरेर पार्टीले सहमतिमै निर्णय लिने बताउनुभएको थियो । यसैबीच, विशेष महाधिवेशन पक्षधर नेताहरुले काठमाडौं भेला आयोजना गर्दै नेतृत्वलाई चुनावअघि महाधिवेशनका लागि दवाव दिएका छन् ।