सरकारले संसदलाई कमजोर पार्ने काम गरिरहेको छ : सभामुख घिमिरे
काठमाडौंसभामुख देवराज घिमिरेले निर्वाचन गराउने प्रयोजनका लागि गठित अन्तरिम सरकारले संसदलाई कमजोर पार्ने काम गरिरहेको बताउनुभएको छ । सिंहदरबारमा पत्रकारहरुसँग सभामुख घिमिरेले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत गएर सरकारले संसद् कमजोर पार्ने कार्य गरिरहेको बताउनुभयो ।
आफ्नो उद्देश्य पूरा गर्नतिर ध्यान दिन छोडेर सरकारले संसदीय व्यवस्थालाई कमजोर पार्ने कार्य गरिरहेको सभामुख घिमिरेको भनाइ छ । उहाँले संसदका पदाधिकारी र सांसदलाई काम गर्न असहज हुने गरी कर्मचारी कटौती लगायतका निर्णय एकलौटी रुपमा गरेर काममा अवरोध आएको जिकिर गर्नुभयो ।
सरकारले सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष, तथा संघीय सांसदका स्वकीय र सचिवालयका कर्मचारीको संख्या कटौती गरेको थियो । सभामुख घिमिरेले प्रतिनिधिसभा विघटन गरिए पनि संघीय संसद्को स्थायी सदन राष्ट्रिय सभा कायमै रहेको, आगामी निर्वाचन वा पुनस्र्थापना भएर प्रतिनिधिसभा पनि फर्किने अवस्थामा अन्तरिम सरकारले एकपछि अर्को गरी संसद्लाई कमजोर पार्ने निर्णय गरिरहेको आरोप लगाउनुभयो ।