मुख्य समाचार

असन्तुष्ट नेता जनार्दन शर्माद्वारा छुट्टै अभियानको घोषणा

काठमाडौं

माओवादी केन्द्रले अन्य दलसँग गर्न लागेको एकताप्रति विमत्ति राखेका नेता जनार्दन शर्माले छुट्टै अभियान चलाउने घोषणा गर्नुभएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले माओवादीलाई रुपान्तरण गर्ने आफूहरुको पहल सफल नभएकाले अब नयाँ अभियानमा लाग्ने बताउनुभयो ।

नयाँ अभियानका लागि नेता शर्मालाई माओवादीका अर्का नेता राम कार्कीले समेत साथ दिनुभएको छ । पूर्वमन्त्री समेत रहेका शर्माले अहिले पार्टी एकताको नाममा भ्रम सृजना खोजिएको आरोप लगाउनुभयो।

माओवादीले पार्टी एकताका लागि औपचारिक निर्णय गरेकै दिन नेता शर्माले छुट्टै अभियान घोषणा गर्नुभएको हो । माओवादी केन्द्रमा जस्तै एकीकृत समाजवादीमा पनि पार्टी एकतालाई लिएर असन्तुष्टी छ । नेता झलनाथ खनाल, महासचिव घनश्याम भुषाल लगायतले अन्य दलसँगको एकतामा सामेल हुन नसक्ने बताइसकेका छन् ।