मुख्य समाचार

ए डिभिजन लिग फुटवल नभएको भन्दै खेलाडीद्वारा एन्फा परिसरमा प्रदर्शन

- पुजनी श्रेष्ठ काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग आयोजनाको माग गर्दै नेपाली फुटबल खेलाडीले ललितपुरको सातदोवाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय अगाडी प्रदर्शन गरेका छन् । ए डिभिजन लिग अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको अगुवाइमा खेलाडीले प्रदर्शन गरेका हुन् । संघका अध्यक्ष विक्रम लामाले एन्फाले गरिरहेको व्यवहारको निन्दा गर्दै आफूहरुको प्रदर्शन कायम रहने बताउनुभयो ।

खेलाडीहरुले एन्फा मुख्यालयमा गई आफ्ना कुरा राख्न खोजेपनि एन्फाले त्यसलाई रोकेको थियो । खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्दले बताउनुभयो ।

पटकपटक लिग स्थगित नगर्न भने पनि बेवास्ता गरिएपछि प्रदर्शनमै उत्रिनु परेको खेलाडीको भनाई छ । राष्ट्रिय टिमका खेलाडी अन्जन विष्टले बताउनुभयो ।

खेलाडीले आफूले जितेको पदक एन्फाको गेटमै झुन्ड्याएर आजको विरोध अन्त्य गरेका थिए । प्रदर्शनमा राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द, विकेश कुथु, अन्जन विष्टसँगै पूर्व खेलाडी तथा फुटबल समर्थकहरु सहभागी थिए ।

लिग नियमित नहुँदा खेलाडी बेरोजगार भएको, कतिपय खेलाडी विदेश पलायन भएको तथा फुटवलमा नयाँ प्रतिभा पहिचान हुन नसकेको गुनासो खेलाडीहरुले गरेका छन् ।

यसैबीच, लिग आयोजनाको माग राख्दै खेलाडीहरु नै सडकमा आउनु दुखद भएको र यस विषयलाई एन्फाले गम्भीरता पूर्वक हेरेको प्रवक्ता सुरेश शाहले बताउनुभयो । एन्फाको वैधानिक व्यवस्था अन्तर्गत नेपालमा दुई वटा लिगको संरचना छ । सोही संरचनामा रहेर पहिले राष्ट्रिय लिग आयोजना गर्ने सहमति क्लबसँग भएको एन्फाले जनाएको छ ।

राष्ट्रिय लिगको अवधि छोटो हुने हुँदा त्यसभन्दा पनि ए डिभिजन लिगमा खेलाडी लामो समयसम्म व्यस्त हुने भएकाले उनीहरुले शीर्ष लिग गर्न दबाब दिएका हुन् । एन्फाले चाँडै नै खेलाडीलाई वार्तामा बोलाउने प्रवक्ता शाहले बताउनुभयो ।

एन्फाले साढे दुई वर्षभन्दा बढी समयदेखि ए डिभिजन आयोजना गर्न सकेको छैन । एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग फुटबल सुरु गर्ने निर्णय गरेको छ ।