आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने रास्वपाको संकेत
- काठमाडौंगत निर्वाचनबाट संसदमा चौथो शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने संकेत गरेको छ । फागुन २१ गतेका लागि निर्धारित चुनावमा अन्य राजनीतिक दल र संगठनहरूसँग चुनावी कार्यगत एकता गर्न सकिने विकल्प खुला राख्ने प्रस्ताव रास्वपाले अघि सारेको छ ।
चितवनमा जारी पार्टीको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा चुनावी गठबन्धन गर्न सकिने उल्लेख छ । प्रतिवेदनमा भनिएको छ– “नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह, राजनीतिक पार्टीसँग निर्वाचनमा र निर्वाचनपछि सरकार गठनमा सहकार्य तथा गठबन्धन गर्न सकिनेछ भन्ने कुरा खुला राखिएको छ ।” रास्वपाले गठबन्धनका नाममा पार्टीको पहिचानमा छायाँ पर्न भने नदिने बताएको छ ।
आगामी चुनावमा सहभागी हुने नयाँ दलसँग कार्यगत एकताका लागि विकल्प खुला राख्ने रणनीतिमा रास्वपा रहेको बताइएको छ । गत निर्वाचनमा ठूला दलले गठबन्धन गरेको भन्दै आलोचना गर्दै आएको रास्वपा दोस्रो पटकको चुनावी प्रतिस्पर्धामा भने आफैं गठबन्धनको पक्षमा देखिएको हो । यसैबीच, रास्वपाले वैकल्पिक राजनीतिक शक्ति निर्माणमा सहभागी हुन दल, समूह र संगठनलाई आव्हान समेत गरेको छ । सो पार्टीले वैकल्पिक दल, संगठन, समूह र व्यक्तिसँग सम्वादका लागि समिति यसअघि नै बनाइसकेको छ ।
रास्वपाले जेन जी आन्दोलनपछि विकसित घटनाक्रमको सन्दर्भमा आफ्नो धारणा अघि सार्दै संसद पुर्नस्थापना नभई चुनावमा जानुपर्ने बताएको छ । आन्दोलनको एजेन्डा अनुसार अन्तरिम सरकार, संवैधानिक र राजनीतिक बाध्यता बनेको निष्कर्षसहित रास्वपाले निर्वाचन नै निकासको माध्यम भएको बताएको छ ।