मुख्य समाचार

राजनीतिक दललाई अवमूल्यन गरिएको छैनः मन्त्री सिन्हा

- केएफएम डेस्ककाठमाडौं

अन्तरिम सरकारका मन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरुलाई अवमूल्यन नगरेको बताउनुभएको छ । सिंहदरवारमा बसेको राष्ट्रियसभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले असन्तुष्ट पक्षहरुसँगको पटक–पटक छलफल गर्नुपर्ने बाध्यताले राजनीतिक दलहरुसँगको सम्पर्क केही ढिला भएको जिकिर समेत गर्नुभयो । उहाँले सरकारले राजनीतिक दललाई अवमूल्यन नगरेको बताउनुभयो ।

मन्त्री सिन्हाले सुरुका दिनमा सरकारले जेन–जी समूहसँगको छलफलमा धेरै समय बिताउनुपरेको समेत धारणा राख्नुभयो । यस्तै, बैठकमा सहभागी निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन गर्नुको अर्को विकल्प नभएको बताउनुभयो । निर्वाचन घोषणा भइसकेको अवस्थामा निर्वाचन हुनुपर्ने बताउनुभयो । संविधान जीवित राख्नका लागि पनि निर्वाचनमा सहभागी हुनुपर्ने जरूरी रहेको उहाँको भनाइ थियो ।

जेनजी अन्दोलनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ का लागि घोषणा गरेदेखि नै निर्वाचन आयोग तयारीमा लागेको भण्डारीले बताउनुभयो । आयोगले निर्वाचनका लागि तयारीका ६० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको पनि जानकारी दिनुभयो ।

यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ का लागि तय भएको निर्वाचनमा भाग लिन मतदाता सूचीमा नाम दर्ता गराउन आग्रह गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले मताधिकारको सदुपयोग गर्न आग्रह गर्नुभएको हो । विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकार सदुपयोग गर्नुपर्ने उहाँको भनाई थियो । आयोगले मतदाता नामावलीका लागि यही कात्तिक ३० गतेसम्मका लागि समय तोकेको छ ।