मुख्यमन्त्री नियुक्तिले मधेश प्रदेशको राजनीति तनावपूर्ण बन्दै
- काठमाडौंमुख्यमन्त्री नियुक्तिको बिषयले मधेश प्रदेशको राजनीतिलाई तनावपूर्ण बनाइरहँदा नयाँ विवाद जन्मिने क्रम बढेको छ ।
रिसोर्टमा नयाँ मुख्यमन्त्रीको शपथ भएपछि दलहरुबीच धुव्रिकरण बढाएका बेला प्रदेशसभाका पाँच सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको कदमले अर्काे विवाद सृजना गरेको हो । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मण्डलले ५ सांसदलाई पदमुक्त गरेकोमा उपसभामुख बबिताकुमारी राउतले त्यसलाई बदर गर्नुभएको छ । उपसभामुख राउतले गत कात्तिक २२ गते विश्वासको मतसम्बन्धी निर्णयको छलफलमा सांसदहरु भाग लिएको भिडियो र फोटोसमेत भएको भन्दै बदर गर्नुभएको हो ।
लगातार १० वटा बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै मण्डलले उर्मिलादेवी सिंह, मनिषकुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र शारदाशंकर प्रसाद कलवारलाई पदमुक्त गर्नुभएको थियो । यसैबीच, एमाले संसदिय दलका नेता सरोजकुमार यादवलाई संविधान मिचेर मुख्यमन्त्रीमा नियुक्त गरेको विरोधमा ७ दलका नेता–कार्यकर्ता आज पनि धर्नामा बसेका छन् । मधेश प्रदेश सरकारको मुख्यालय रहेको भवन अगाडीका सडकमा ७ दलका नेता–कार्यकर्ता धर्नामा बसेका हुन् ।
यसैबीच, मधेस प्रदेशका ५ सांसदलाई पदमुक्त गरिएको जानकारी राजपत्रमार्फत् सार्वजनिक गरिएको छ । उपसभामुखले सभामुखको निर्णय बदर गरेपनि उनीहरुलाई पदमुक्त गरिएको जानकारी गराइएको हो । सो बिषयलाई लिएर ७ दलले विरोध जनाएका छन् । कारवाहीमा परेका सभामुखले ५ सांसदलाई पदमुक्त गरेको विवरण सार्वजनिक गराएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । सो कदमले मधेसमा मुठभेड निम्त्याउन खोजेको ती दलको आरोप छ ।
यसैबीच, मधेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले हाल उत्पन्न अनिश्चित वातावरणमा विधिसम्मत रुपमा राजनीतिक निकासका लागि आग्रह गर्नुभएको छ । पदभार ग्रहण गरेपछि नवनियुक्त प्रदेश प्रमुख लाभले सहकार्यको संस्कृति विकास गर्दै सकारात्मक अग्रसरताको लागि राजनीतिक दल लगायतलाई वक्तव्य मार्फत अपिल गर्नुभएको हो । विगत केही दिनदेखि उत्पन्न अस्थितराले समग्र सामाजिक, राजनीतिक, आर्थिक, प्रशासनिक, विकासका गतिविधिलाई प्रभावित पारेको उहाँको भनाइ छ ।