मुख्य समाचार

मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादः दुवै पक्ष आज अदालत जाँदै

काठमाडौं

सर्वोच्च अदालतले मधेसमा मुख्यमन्त्री नियुक्तिमा देखिएको विवादमा छलफल गर्न आज दुवै पक्षलाई बोलाएको छ । सरकार गठनविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयको निक्र्यौल गर्न दुवै पक्षलाई बोलाइएको हो । सरकार गठन विरुद्ध कांग्रेससहितका दलले अन्तरिम आदेशको माग गर्दै दर्ता गरेको रिटमा सर्वोच्चले छलफल गर्न लागेको हो । गत बुधबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले दुवै पक्षबीच छलफलका लागि आज बोलाउने निर्णय गरेको थियोे ।

इजलासले मुख्यमन्त्री नियुक्तिसम्बन्धी कात्तिक २३ गतेको निर्णय तथा मन्त्रिपरिषद् गठनका सम्पूर्ण कागजात पछि फिर्ता लैजाने गरी कात्तिक ३० गते छलफलमा ल्याउने आदेश दिएको थियो । नेपाली कांग्रेस मधेश प्रदेशसभा संसदीय दलका नेता कृष्णप्रसाद यादवसहितका ७४ जना प्रदेशसभा सदस्यले कात्तिक २५ गते रिट दायर गरेका थिए । गलत प्रक्रियाबाट एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दलहरुले जनकपुरमा दिनहुँजसो विरोध प्रदर्शन गर्दै आएका छन् ।

यसैबीच, आन्दोलनरत सात दलका नेता कार्यकर्ताले आज पनि जनकपुरस्थित मधेश भवन अगाडि धर्ना जारी राखेका छन् । आज सबैले पार्टी झण्डाको सट्टा नेपालको झण्डासहित धर्ना दिएका हुन् ।