निर्वाचन आयोगमा १ सय २२ दल दर्ता
- काठमाडौंनयाँ दल खुल्ने र खारेज हुने क्रम बढेसँगै १ सय २२ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
चुनाव घोषणा हुनुअघि १ सय २२ दल दर्ता भएकोमा आजसम्म पनि सोही संख्यामा दल दर्ता कायम भएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यो अवधिमा ७ वटा नयाँ दल दर्ता भएको र त्यत्तिकै संख्यामा खारेज भएको जानकारी दिनुभयो ।
आयोगका अनुसार २८ वटा दल दर्ताको प्रक्रियामा छन् । ती दल दर्ताका लागि आवश्यक गृहकार्य भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
यसैबीच, आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि भोलिबाट दल दर्ता शुरु गर्दैछ । आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनका लागि समेत दर्ता गर्नुपर्ने व्यवस्था छ । राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते र प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गतेका लागि निर्धारण भएको छ ।