मुख्य समाचार

मधेश प्रदेशका ५ सदस्यको पक्षमा सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश

- केएफएम डेस्क काठमाडौं

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका ५ प्रदेश सभा सदस्यको पक्षमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले आज सो आदेश जारी गरेको हो । प्रदेश सांसदहरु उर्मिलादेवी सिंह, मनिषकुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र शारदाशंकर प्रसाद कलवारले सभामुख मण्डलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । 

सभामुख मण्डलको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्चमा आज सुनुवाइ भएको हो । त्यसपछि अल्पकालिन अन्तरिम आदेशसँगै कारण देखाउ आदेश र अन्तरिम आदेशको छलफलमा बोलाइएको छ । 

गत बिहीबार सभामुख मण्डलमाथि पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गरिएको थियो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने एमाले बाहेकका दलहरूले सभामुखबाट मण्डललाई हटाउने प्रस्ताव राखेका थिए । सभामुख मण्डलले भने पाँच सांसदलाई पदमुक्त गर्नुभएको थियो ।