जेनजी प्रतिनिधिको सबै माग अहिले पुरा गर्न सकिँदैनः मन्त्री पुन
- काठमाडौंअन्तरिम सरकारका एक जना मन्त्रीले जेन जीका प्रतिनिधिको सबै माग अहिले पुरा गर्न नसकिने भन्दै आफै चुनाव लडेर सरकार बनाउन आग्रह गरेका छन् ।
जेन जी टु नामक समूहका प्रतिनिधिले बुझाएको मागपत्र बुझ्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जेनजीका प्रतिनिधिलाई सबै माग पूरा गर्न नसकिने बताउनुभएको हो ।
विभिन्न जेन जी समूहले प्रधानमन्त्री र मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने क्रम बढिरहेका बेला मन्त्री पुनको धारणा सार्वजनिक भएको हो । उहाँले गाउँ–गाउँ गएर चुनावमा युवा नेतालाई जिताउन आग्रह समेत गर्नुभयो ।
जेन जी आन्दोलनका मुख्य अगुवाहरुले आन्दोलनको एजेन्डा कार्यान्वयन गर्ने भन्दै सरकारसँग सम्झौता गर्न संयुक्त मस्यौदा बुझाएपनि जेन जीका नाममा विभिन्न समूहले भिन्दाभिन्दै माग राख्दै आएका छन् ।
यसैबीच, राजतन्त्रको पक्षमा देखिएको एक जेन जी समूहले भोलि काठमाडौंमा उन्नत प्रजातन्त्रसहितको संवैधानिक राजसंस्था बिषयक अन्तक्रिया आयोजना गरेको छ । जेन जी एलायन्स फर मोनार्की नामक समूहले सो कार्यक्रम आयोजना गरेको हो।