मुख्य समाचार

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी विभाजित

- केएफएम डेस्क काठमाडौं

जेन जी आन्दोलनपछि अन्तरिम सरकार गठन हुँदै मुलुक निर्वाचन उन्मुख भएका बेला दलहरु विभाजन र एकीकरणका साथै नयाँ दल बन्ने क्रम बढेको छ ।

विभिन्न दल परित्याग गरेका नेताहरुले मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा गरेकै दिन अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ । सो पार्टीका केन्द्रीय कार्यकारिणी समितिमा रहेका ६ सदस्यले पार्टी परित्याग गर्दै अघिल्लो साता गठित नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने निर्णय गरेका छन् ।

संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बु, केन्द्रीय सल्लाहकार समितिका उपाध्यक्ष दुर्गामणी देवान, केन्द्रीय विज्ञ परिषद्का अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र अनुशासन आयोगका अध्यक्ष कृष्ण बहादुर घजुले पार्टी छाडेका हुन् । अग्रगामी परिवर्तनका पक्षधर राजनीतिक दलसँग मिलेर प्राप्त राजनीतिक उपलब्धी रक्षा गर्नुपर्ने भन्दै नयाँ पार्टीमा समाहित हुन जसपाको जिम्मेवारी छाडेको उनीहरुको भनाइ छ ।

उपेन्द्र यादव नेतृत्वको पार्टी विभाजनपश्चात् अशोक राईको नेतृत्वमा गठित दल अहिले आएर विभाजित भएको हो । अध्यक्ष राईले भने माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दल मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीसँग एकीकरण गर्न अस्वीकार गर्नुभएको छ ।