एमालेद्वारा एकै दिन दल दर्ता र संसद पुर्नस्थापनाका लागि रिट निवेदन
काठमाडौंअन्तरिम सरकार र फागुन २१ गतेका लागि निर्धारित चुनावप्रति विमत्ति राख्दै आएको प्रमुख राजनीतिक शक्ति एमालेले एकै दिन दल दर्ता र संसद पुर्नस्थापनाका लागि रिट निवेदन दिएको छ । तत्कालिन सत्तागठबन्धनको नेतृत्वकर्ता एमालेले प्रतिनिधिसभा पुर्नस्थापना र प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति खारेजको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
एमालेका तत्कालीन मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले हस्ताक्षर गरेर अदालतमा रिट निवेदन पेस गरिएको हो । बर्तौलाले संसद पुर्नस्थापनाको मागसहित रिट दायर गरिएको बताउनुभयो ।
प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन सक्ने संवैधानिक आधार नभएको र प्रधानमन्त्री कार्कीको नियुक्ति असंवैधानिक भएको जिकिर एमालेले रिटमा गरेको छ । संसदमार्फत प्रधानमन्त्री बनाउनुपर्ने माग समेत गरिएको बर्तौलाले जानकारी दिनुभयो ।
संसद पुर्नस्थापनाको मागसहित अदालत जाने एमाले पहिलो दल बनेको छ । अर्को प्रमुख दल नेपाली कंग्रेसले संसद पुर्नस्थापनाका लागि हस्ताक्षर संकलन गरेपनि अदालतमा रिट भने अघि बढाएको छैन । यसअघि विभिन्न कानून व्यवसायीले प्रतिनिधिसभा विघटन विरुद्ध दायर गरेका १६ वटा रिट निवेदन सर्वोच्चमा विचाराधिन छन् ।
यसैबीच,एमालेले चुनावी प्रयोजनका लागि दल दर्ता गर्न तोकिएको समयसीमा सकिने अघिल्लो दिन निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । एमाले केन्द्रीय निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितका नेताहरुले आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् ।
एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि यसअघि नै दल दर्ताका लागि निवेदन दिइसकेको थियो । यसैबीच, राप्रपाले समेत आयोगमा दल दर्ताको निवेदन दिएको छ । आयोगका अनुसार, आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आज अपरान्ह ६७ वटा पार्टीले चुनावी प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छन् । दल दर्ता गर्ने समयसीमा भोलि सकिदैछ ।