गगन थापाद्धारा प्रधानमन्त्री पद अस्वीकार !
काठमाडौंमहाधिवेशनको विषयलाई लिएर उत्पन्न गम्भीर विवाद मिलाउन नेपाली कंग्रेसका नेताहरुबीच छलफल तीव्र भएको छ । भोलिका लागि निर्धारित केन्द्रिय कार्यसमितिको बैठक अघि सहमति खोज्न बिहानैदेखि नेताहरुबीच छलफल भइरहेको छ । विशेष महाधिवेशन पक्षधर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई सहमतिमा ल्याउन संस्थापन पक्षका नेताहरुले आन्तरिक परामर्श गरिरहेका हुन् । विशेष महाधिवेशनको माग फिर्ता लिनुपर्ने र पुषभित्र नियमित महाधिवेशन गर्न सकिने सर्तसहित संस्थापन पक्षका नेताहरुले सहमतिको पहल गरेको बताइएको छ । पदाधिकारी तहका नेताहरुबीच अनौपचारिक छलफल भइरहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो ।
महाधिवेशनको विवाद मिल्न नसक्दा पार्टी विभाजनतर्फ जान सक्ने चिन्तामाझ मध्यमार्गी प्रस्तावमा सहमतिको खोजी भइरहेको नेताहरुले बताएका छन् । संस्थापन पक्षले महामन्त्री थापालाई आगामी निर्वाचनपछि प्रधानमन्त्रीको रुपमा अघि बढाउन सकिने विकल्प समेत अघि सारेको इतर पक्षका एक नेताले बताए । तर महामन्त्री थापाले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावना विपरित अघि बढ्न नसक्ने धारणा राख्नुभएको बुझिएको छ ।
थापाकै अगुवाईमा ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग राख्दै आएका छन् । सहमति नभए विशेष महाधिवेशनका लागि भोलिको बैठकमा कार्यतालिका समेत पेश गर्ने तयारी थापाले गर्नुभएको छ । संस्थापन पक्षले भने नियमित महाधिवेशनमै जानुपर्ने बताउँदै आएको छ । यसैबीच, विशेष महाधिवेशन पक्षधर नेता कार्यकर्ताले काठमाडौंमा आज भेला गरेका छन् ।