मुख्य समाचार

सुन तस्करी प्रकरणमा धरौटी बुझाएर पूर्वसभामुख महरा

काठमाडौं

सुन तस्करी प्रकरणमा जिल्ला अदालतको आदेशले थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुनु भएको छ । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश गरेपछि महराले जिल्ला अदालत काठमाडौंमा नगद नै धरौटी बुझाएपछि रिहा गरिएको जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिनुभयो । उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले आज महरालाई धरौटीमा छाड्न आदेश गरेको हो ।

 सुन तस्करी प्रकरणमा मुछिएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत असोज २६ मा पक्राउ गरेको थियो । यस्तै, असोज २९ गते जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्लाले थुनामा पठाएपछि सो विरुद्ध महरा उच्च अदालत पुग्नुभएको थियो । 

 उच्चले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा पठाउने गरी भएको जिल्लाको आदेश नमिलेको भन्दै बदर गरिदिएको हो । गत वर्षको चैत ९ मा महरालाई जिल्ला सरकारी वकिलको कार्यालयले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर महरालाई अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाइएको थियो । उच्चले महरामाथि लागेको अभियोग दाबी तथा संकलित सबूत प्रमाण, उमेर र स्वास्थ्य अवस्था समेतलाई मध्यनजर गर्दै थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भन्दै २० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत वा बैंक जमानत लिएर धरौटीमा छाड्न आदेश दिएको हो ।