दलका गतिविधिलाई बिना अवरोध सञ्चालन हुने वातावरण बनाउन सेनालाई प्रधानमन्त्रीको निर्देशन
- काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले दलहरुको गतिविधिलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।
चुनावमा सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको भोलिपल्ट प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षा तयारीबारे जानकारी नेपाली सेनाको मुख्यालय पुग्नुभएको थियो ।
सो क्रममा नेपाली सेनाले मुलुकको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो । प्रधानमन्त्री कार्कीले चुनाव सम्पन्न गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिम्मेवारी अनुसार काम गर्न आग्रह गर्नुभएको थियो । जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तथा नियन्त्रणमा अन्य सुरक्षा निकायसँग सहकार्य गर्न समेत प्रधानमन्त्री कार्कीले निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
यसैबीच, सरकारले निर्वाचनको सुरक्षा व्यवस्थाकालागि मंसिर अन्तिमबाट सेना परिचालन गर्ने तयारी गरेको छ । शान्ति सुरक्षाको अवस्था कमजोर रहेको भन्दै सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि माहोल तयार पार्न तीन महिनाअघि सेना परिचालन गर्न लागेको हो । निर्वाचनको सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिइसक्नु भएको छ । राष्ट्रपतिको स्वीकृति बमोजिम सरकारले यही मंसिरको अन्तिम साताबाट सेना परिचानको तयारी गरेको हो । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।